साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ। म अफिस भित्रैको एउटा क्याबिनको कम्युटरमा ब्यस्त हुने मान्छे तर आज अचानक पत्रिकामा परेको एकै नजरले अचम्मै बनायो। हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो। मैले प्रत्यक्ष देखेको भने थिइन। (कालो बुर्का साउदीको महिलाले लगाउने कपडा लगाएर यात्रारत हुन्छन् यिनीहरु) रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन्। राजलाई झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान्। आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनि उसलाई गुमाएको पल झलझल आँखामा आउन थाल्यो।

राज र म साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा सँगै काम गर्र्थ्यौँ। हामी साउदीको मुटु राजधानी रियादमा थियौ। राज सप्लाइ डिपार्टमा कार्यरत थियो। उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो। त्यसै क्रममा राजको भेट नुर भन्ने अरबियन केटीसँग भएको थियो। राज सँधै उनको बारेमा बताउथे। नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा। राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ। आखिर नुरमा के छ यस्तो? मलाइ राजले फोटो देखाए पनि म उनको रुपमा कहिल्यै विस्वास गर्दैनथेँ। रुपमा किन मर्छस् राज? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ। हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस् । राज भावुक बनेर भन्थे,“बिशाल मायामा ज्यानै दिन परेपनि म तयार छु।” उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ। हेरौं जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ। मलाइ यही मर्न लेखेको छ भने मञ्जुर छ म पराइकै माटोमा मरौला। हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला, बाग्मतीको पानीले चोखिन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल? हुन त म अभागी ठहरीनेछु दुनियाँका नजरमा बिदेशको माटोमा पुरीँदा तरपनि माया भनेको माया हो । नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरेपनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो, बिशाल जे होगा देखा जायगा।

नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो। मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरूभूमीको राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थें। उनिहरुको प्रेम झाँगिदै थियो। कहिले भेटेर, कहिले फोनमा त कहिले नेटबाट नै भएपनि लामो समय सम्म उनिहरुको एकआपसमा कुराकानी गरिरहन्थ्यो। म कहिले काँही जिस्काउथेँ, “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार। म पनि यसो सुनौ मेरी हुनेवाला भाउजुको स्वर, जुन स्वरमा मेरो साथी राज अल्झिएको छ। मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो, उता बाट आवाज आउथ्यो “मिन हुवा ?” (को हो ऊ) “राजले नरम भएर जवाफ दिन्थ्यो “सदीग”(साथी)”बिशाल।

उनीहरुको कुरा कतीखेर सकिन्थ्यो मैलै कहिल्यैपनि थाहा पाइन। म आफैमा ब्यस्त हुन्थें, उनीहरु आफ्नै दुनियाँभित्र हराउएर कुरा गर्थे। एक कान दुइ कान मैदान हुँदै उनीहरुको प्रेम सम्बन्ध नुरको घरपरिवारले थाहा पाएछ। उनका बाबा आमाले पुलिसमा उजुरी गरेछन्। त्यसपछि ठूलो रडाको नै मच्चियो। अन्त्यमा राजलाइ फाँसी नै सुनाइयो। मर्नु त छँदै थियो सबलाई एकदिन तर उसलाई पर्सिपल्टनै फाँसी हुने कुरा पक्का भयो। समेट्नु पर्ने खुसिहरु हजार थिए तर समय थियो ऊ सँग जम्मा दुईदिन। दुई पलको भईदिएन त्यो प्रेमको सुखमय संसार। व्यथा कसलाई सुनाउँ सुनिदिने कोही थिएन, नबोली बसौं आफ्नो हितैसी मित्र जिएन। आखिर हुने हार दैब नटार भनेझैं त्यो रात आँखा चिम्लिन नपाउँदै आएरै छोड्यो। फाँसीको  अन्तिम रात उसले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो; बिशाल यो पत्र एक चोटी पढेर नुरलाई दे है । मैले किन हेर्नु राज भन्दा उसले भन्दै थियो, सायद तँ नै मेरो हरपलको मित्र, तँ बाहेक मेरो भन्नु को छ र यो बिरानो ठाउँमा? बाँचुन्जेल मेरो लागि कयौं कष्ट उठाइस् अब मर्नेबेलामा सानो कष्ट उठाइ दिन्नस? प्लिज नाई नभन तँलाई मेरो दोस्तीको कसम! तँ नै मलाई नुरको अगाडि निर्दोष सावित गरिदिने अधिवक्ता र मेरो सानो पाठसाल नुरकहाँ पर्र्याइदिने हुलाकी होस्।

मेरो आँखा भरीदै थियो, म केही नबोली आज्ञाकारी बालकझै टाउको हल्लाउँदै सहमति जनाएँ। साथिसँग हुन गइरहेको बिछोडको पिडाको माथि उसले प्रहार गरेको वचनको झटारोले मेरो घायल मुटुमा अझ बढी बज्रपात पर्र्यो। जीवनमा बल्ल मुग्लान पस्नुको पीडा र पश्चताप महसुस भयो मलाई। म डाँको छाडेर रुन पनि सकि रहेको थिइन। मलाई सम्पूर्ण धर्ती आकाश फाटेझै लाग्न थाल्यो र बर्खे भेल एकैचोटि उर्लेर आएझै लाग्न थाल्यो तर अनौठो कुरा राजको मुहारमा भने डर, त्रास, पिर, चिन्ता भनेको पटक्कै थिएन। बरु प्रेमभाव विचित्र र रहस्यमय पाराले झल्किरहेको थियो।

फाँसीको अन्तिम दिन राजसँग अनयासै अँकलमाल गरि जब म उसले दिएको पत्र लिएर घर फर्कन लागेको थिएँ, तब ऊसँग आज अन्तिम पटक भेटेर फर्किदै छु भन्ने महसुस भएपछि मेरो मुटुले ढ्याङ्ग्रो ठटाउन लागेको थियो, मेरो हंसले ठाँउ छोडीरहेको थियो। मैले भगवानसँग लाख बिन्ती गरेँ राजको जीवन बचाउन तर पनि उसले मौन भएर हाम्रो छट्पटी हेरेरै मात्र बस्यो र बुझें, आखिर ती ढुङ्गा नै रहेछन्, तिनको मन नै रहेनछ, तिनलाई पुज्नुनै मेरो ठूलो मेरो जीवनको ठूलो भूल रहेछ।

एक मनले गाली गरेँ ती अर्काको पीडा हेरेर बस्ने निर्दयी भगवानलाई अर्को मनले एकाएक बदलाको भावनाले मन उम्लिन थाल्यो ती सामन्तीहरु प्रति। अशान्त मनलाई धेरैबेरको प्रयासपछी सम्झाएँ; सोंचे जे भयो भयो, दैबको मर्जी यहि हो भने यसैमा सन्तोष मान्नुपर्छ। यी करोडौं मुस्लिम मान्छेहरुसँग मुकाबिला गर्न सक्ने सामर्थ्य छैन ममा। प्रकृतिकै नियम हो जन्म र मृत्युु यो। अजम्बरी जुनि कोही मानिसले पाएको छैन, राज र म मात्र नभएर दुनियाँको जो कोही मानिसहरु एकदिन अवस्य मर्नुपर्छ मात्र यो फरक हो कि, कोहि छिट्टै र कोही ढिलो गरी। यदि आफ्नो रिसलाई काबुमा राख्न नसके म पनि यही पराईको माटोमा जलेर मर्नुपर्छ। नेपाली भित्रको नेपालीपन यहि जलाउनु पर्छ। आफ्नो मनलाई कठोर बनाउदै विदाइको हातहरु हल्लाउँदै रुँदै, कराउँदै र विलौना गर्दै गाडी भएको ठाउँसम्म आँए। मानौं म एउटा वेसाहारा बालक हुँ, मेरो आफ्नै निजी मनपर्ने खेलौना अरु अर्कैले खोसिदिएको छ मुकाबुला गर्न सक्ने क्षमता छैन ममा म रुँदै हिडिरहेको छु।

आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आएँ। पहिला त सोंचे के लेखेको होला चिठी भित्र। हिम्मत आएन चिठी खोल्ने, वलिस्ठ हातखुट्टा पनि प्यारालाइसिस भएको बिरामीझै थरथरी काम्न थाले। तर साहस बटुल्दै हतार हतार उसको पत्र खोलेर पढी पनी हालेँ के लेखेको होला त्यसमा भनेर।त्यसमा लेखेको रहेछ:-

‘मेरी नुर जुनी जुनी जिउनु ल!’

तिमी त म सँग अन्तिम पटक भेट्न पनि आइनौ। तर पनि कुनै गुनासो छैन तिमीसँग मेरो, यो त मेरो भाग्यको खेल हो। म तिम्रो जन्मभुमीमा हाम्रो मायाको बलि चढाएर तिमीसँग अर्को जुनि रहेछ भने सँगै जिउने सँगै मर्ने बाचा गर्दै तिमीले देखाएको सपनाको महलमा म आफ्नो दासी जिन्दगी बिसर्जन गर्दैछु। भेट्दा, कुरा गर्दा तिम्रो शालिन ब्यवहार र आनिबानिले म तिमीमै समर्पित हुँन्थेँ अनी अनौठो सपना बुनि पनि हाल्थेँ; तिमी मेरो सामिप्यतामा रमेको, म दुनियाँलाई बिर्सिएर तिम्रो प्रेममा चुर्लुम्न डुबेको। तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वरसँग दोहोरी खेलाउने ठुलो धोको थियो, तर जिन्दगीले पनि मेरो प्रेमको किन यति ठूलो अग्नि परीक्षा लियो म आफैलाई थाहा छैन।

तिमीलाई थाहा छ नुर? मेरो घर पहाडमा छ। प्रकृतीको धनी मेरो गाँउ डाँडा, पाखा, छहरा, पहरा, लहरा, सेतो हिमशिखरले भरीपुर्ण छ सायद तिमीलाई थाहा नै छ होला नेपालको सुन्दरता पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे। तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयो। तर पनि मेरो ठम्याइ छ। त्यहाँको प्राकृतिक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए, मोहोनी लगाउने थिए। कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्नचाहन्थ्यो। अनी म तिम्रा हात समाएर सबैको सामु भन्थें- “आना हेब ईन्त नुर” (म तिमीलाइ माया गर्छु नुर) हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ। भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ तर आस छ भर छैन यो भाग्यको। भगवानको मर्जी न हो, जे चाहन्छ उही हुन्छ।सायद तिमी भगवान भन्दा बुझ्दिनौ होला तिमी भगवानलाई “अल्ला” भनेर चिन। भगवान भन वा अल्ला भन एक हुन मेरो नजरमा। कुनै धर्मले पाप गर, अरुलाई दुःख देउ, हिंसा गर भन्दैन। मलाई थाहा छ, तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन्। तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन तर मैले चाहिन त्यसो गर्न। किनकी धर्म परिवर्तनमा के नै छ र? म जहाँ जन्मिए, जुन संस्कारमा हुर्किएँ उही तरीका ले बाँच्न चाहेँ। कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम, यो क्रीश्चीयन, यो हिन्दु …भनेर? हामीले विश्वास गर्ने, प्रार्थना गर्ने शैली मात्र फरक हो तर भगवान एक, रुप अनेक हुन्। तिम्रो बाबालाइ सुनाइ देउ की मेरो भगवान मानवता हो। तिम्रो बाबाको जस्तो स्वार्थी, पापी र अहंकारी अल्लाकार भावना मेरो ॐकारमा छैन। हाम्रो प्रेमलाई आड बनाएर तिम्रो बाबाले जुन धर्मयुद्ध लड्यो त्यो कदापि हुन धर्म सक्दैन, त्यो त अहमता हो आफ्नो इलाकामा कुकुर पनि शेर हुने चाल हो। धर्म फरक भएकै कारणले म जस्ता कति नेपाली दाजुभाइ दिदीबहिनीहरु यहाँ हेपिएको र च्यपिएको तितो यथार्थ छ। मान्छे आखिर मान्छे हो नुर, जन्मदा बालक स्वतन्त्र जन्मन्छ तर ऊ हर क्षेत्रमा बन्धनमा बाँधिन्छ। जात, धर्म, स्तर त हाम्रो समाजले नै बनाएको हो। 

तिमी आफै भन त, जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ, कुन जातको थियौ? काटे रगत रातै आउछ सबको। हिन्दुको रगत रातो आउने अनी मुश्लिम र क्रिस्चियनको सेतो, हरियो, पहेंलो, निलो, कालो आउने हैन। आज महसुस भैरहेको छ सायद तिम्रो बाबाको रगत सर्पको जस्तो बिषालु र कालो रहेछ क्यार त्यसो त मानिस भन्दा फरक व्यवहार गर्र्यो मसँग। हुन त खोक्रो पहिचान र प्रतिष्ठाको धाक लडाएर हिँड्ने तिम्रो बाबालाई प्रेमको परिभाषा र महत्व के थाहा? सँधै पैसाकै पछाडी कुद्छन्। पैसा दिएर धर्म परिवर्तन गर भन्छन्। पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरु पूर्ण र सन्तुष्ट हुन्थे। उपहार दिँदैमा, कुनै एक विशेष दिनमा बनावटी माया जाहेर गरेर माया गरेको भन्ने पार्ने तिम्रो बाबालाई माया गर्न सिकाउ नुर। तिमीलाई त माया गर्न आउछ नी है नुर। तिमी सँग भेट हुने यही अन्तीम हो। त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैन अनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ। त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले। यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु।

हाइयाक् अल्ला या नुर, मासलाम

राज !!!

त्यतिकैमा कोही आएछ, दाइ के छ ओ? आजको हट न्युज! म झसङ्ग भएँ, सँगै कामगर्ने कुञ्जन भाई रहेछ। 

कुञ्जन: आजको न्युज बबाल छ राज दाई!

विश्वास (म):  के छ र भाई सुनौ न त म पनि।

कुञ्जन:  नुरले आत्महत्या गरीछे नि यार।

विश्वास (म): को नुर, राजकी नुर?

कुञ्जन: अँ हो यार दाइ, राजसँग फोन बोल्ने त्यहीं केटी

विश्वास (म): तर त्यसले यतिका पछी किन आत्महत्या गरी त हँ? खै ले त पत्रिका हेरौं।

कुञ्जन: खै पनि मैले केही थाहा पाउन सकेको छैन दाई।

उसले मेरो हातमा पत्रिका दियो। कारण के हो, कसो हो पत्रिका ओल्ट्याई पोल्ट्याई हेरेँ चित्र त राजले देखाएको फोटोसँग काटिकुटी मिल्ने केटी रहेछ। पत्रिका अरबी भाषामा लेखिएको रहेछ। अब पत्रिका पढ्न जानेको भए पो घटनाको यथार्थ विवरण पाउन सक्थ्यो र जानेको छैन। नरमाइलो लाग्यो, केही दिन अगाडि घटेको त्यो घटना आँखामा झलझली नाच्न थाल्यो। पत्रिका डस्विनमा फालेर मन भुलाउन भित्र कोठामा गएर नेट खोलेँ। कुञ्जन पनि म सँग भित्र आयो। नेट खोल्ने बित्तिकै ईमेल आएको घण्टी बज्यो। सोंचेँ सायद अफिसियल होला। तर मेल नयाँ ठेगानाबाट आएको थियो। मैले सोंचे कसले किन पठाएको होला? अनि अल्मलीदै खोलीपनि हालेँ। अरबीमा लेखेको रहिछ मैले पढ्न जानीन र कुन्जनलाइ भने। यार भाइ कसरी पढ्ने? नयाँ एड्रेसबाट ईमेल आएको रहेछ तर कसरी पढ्ने यो त अरबी भषामा छ। उसले हाँस्दै भन्यो, ‘यार दाइ हजुर पनि, इन्टनेरटबाट ट्रान्सलेट गर्नुन’ यो जमानामा पनि यति कुराको के चिन्ता? मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँलेँ, त्यो मेल यस्तो रहेछ।

‘नमस्ते देवर बाबु’ सञ्चै हुनु हुन्छ?

मैले राजको बारेमा आजमात्र थाहा पाँए। मलाइ फोन, नेट सबैतिर बन्देज लगाइएको थियो। आजमात्रै सबै थोकबाट फुकुवा गरीएको हो मलाई। मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो। त्यो भिडियोमा राजलाई झुन्ड्याएर मारीएको रहेछ। जुन कुरा मैले सहन सकिन। भिडियो हेर्नु लगत्तै राजको चिठी पनि पाँए। उहाँसँग मैले पनि पत्रमा भेँटे। बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला तर म हजुरहरुले सोंचेजस्तो निस्ठूरी छैन। मेरो मुटुको टुक्राको फाँसीको कुराले म आफूले आफैलाई माफी गर्न सकिन। मलाई तिनीहरूले विदेश घुम्न जाने बहाना बनाई मेरो प्राण भन्दा प्यारो राजलाई फाँसी दिएछ र मलाई धोका दिएर अरूलाई बिहे गरेर कम्पनी छोडेर भाग्यो भनी झुटो कुरा सुनाएको थियो तर मलाई पूर्ण विश्वास थियो कि मेरो राजले त्यति निच काम गर्दैन र अवश्य फर्केर आउँछ भनेर। तर जब मैले सबै कुरा थाहा पाएँ मैले यो स्वार्थी संसारमा आफूलाई एकछिन पनि भुलाउन चाहिन। तर म तपाईहरुको नजरमा आफूलाई निर्दोष सावित गर्नु जरुरी थियो, त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए। मैले यो संसारबाट बिदा लिइसकेको हुन्छु जब तपाईंले यो मेल पाउनुहुन्छ।

म निष्ठुरी होइन बिशाल बाबु। मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँए जुन भाग्यशाली पुरूष थियो राज र सयौं जुनि प्रेम गरिरहन्छु त केवल राजलाई मात्र। सत्यता थाहा नपाउदा सम्म त राजसँग भेट्ने आसा जिँउदो थियो तर सबै कुरा थाहा पाए पछी मैले प्राण बिनाको खोक्रो शरीर जिउनुको अर्थ देखिन। मेरा आमा बाबा चाहनुहुन्छ म अरु कसैसँग विवाह गरोस् तर जुनिजुनिको लागि मेरो राजलाई सुम्पिसकेको यो तन मन म कसरी जिउदै मरेर अरुलाई सुम्पिएर राजको निश्चल प्रेमलाई अपहेलना गर्न सक्छु बिशाल बाबु? त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ। मैले गल्ती गरेको छैन केही मेरो प्रेममा सहिद भएको मेरो प्रेमी, मेरो जिवनसाथीको सेवा गर्ने हेतुले आज यो स्वार्थी संसारबाट सदाको लागी बिदा लिने अठोट गरेँ। मैले हजुरलाइ नदेखेपनि हजुरको बारेमा राजको ओठबाट सबै सुनेको छु। त्यसैले हजुरले मलाई निर्दोष ठान्नु भयो भने म राजलाई उ गएको ठाँउमा, हाम्रो प्रेमको सम्मान हुने ठाउँमा गएर मेरो मायाको सर्जिम बक्ने अधिवक्ता हजुरलाइ देखाउन सक्नेछु। मलाइ माफ गर्नुस् ल!

उही हजुरको भाउजु हुन नसकेकी हजुरले फोनमा जिस्काउने हजुरको भाउजु:

‘नुर’ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here