‘प्रेम दिवस’ मनाइँदै अचेल धेरै युवायुवतीहरु भ्यालेन्टाइन डेमा अभ्यस्त भइरहेका छन् । यो दिनलाई प्रेम उत्सव ठान्दछन् उनीहरु । भ्यालेन्टाइन डेको आगमनसँगै उनीहरुमा उत्साह भरिएको छ । तर, करोडौं युवायुवतीमा रोमाञ्चकता ल्याइदिने भ्यालेन्टाइन डेको पृष्ठभूमि भने निकै दुःखद छ । प्राप्ति मात्रै प्रेम होइन, त्याग पनि स्वीकार्न सक्नुपर्छ भन्ने अर्थ छ यो दिवसको ।

भ्यालेन्टाइन डेको सुरुआत अंग्रेजी सम्वत तेस्रो शताव्दीतिर भएको हो । रोमन तानाशाही शासक क्लाउडिअस दोस्रोले मृत्युदण्ड दिएको उसको सिपाही भ्यालेन्टाइन्स र उसको भगवानप्रतिको आस्था अनि जुलियाप्रतिको प्रेम बलिदानीसित गाँसिएको छ यो इतिहास ।

क्लाउडिअसले आफ्ना नागरिकलाई १२ वटा भगवानको मात्र पूजा गर्न आदेश दिएका थिए । आदेश नमान्नेलाई मृत्युदण्ड गर्ने घोषणा गरे । तर भ्यालेन्टाइन्स प्रतिवद्ध इसाइ थिए । उनी आफ्नो धार्मिक आस्थामा डगमगाएनन् । शासकको आदेश उल्लघंन गरे । उनको व्यवहारबाट क्लाउडिअस क्रुद्ध भए । भ्यालेन्टाइन्स पक्राउ परे अनि मृत्युदण्ड दिइयो ।

मृत्युदण्डको मिति तोकिएको केही साताको अवधि भ्यालेन्टाइन्सका लागि निकै अर्थपूर्ण रह्यो । जेलरले उसलाई जुलियासित भेटाउने प्रस्ताव ल्याए । जुलिया जन्मजात दृष्टिविहीन, तर सौन्दर्य र तीक्ष्ण दिमागकी थिइन् ।

उनीहरुबीच रोमको इतिहासबारे ज्ञान आदान-प्रदान भयो । भ्यालेन्टाइन्सले प्रकृति र विश्वको बारेमा व्याख्या गरे । जुलियाले पनि उसकै आँखामार्फत् विश्व बुझिन् ।

‘भ्यालेन्टाइन्स, के भगवानले हाम्रो प्रार्थना सुन्छन् त ? ‘ एकदिन जुलियाले सोध्दा भ्यालेन्टाइन्सले भनेका थिए- ‘हो जुलिया, उनले हामी प्रत्येकको प्रार्थना सुन्छन्’ ।

‘तपाईंलाई थाहा छ, म हरेक विहान र साँझ के प्रार्थना गर्दछु ?’ मैले भगवान देख्न सकूँ, तपाईंले सुनाएको हरेक कुरा आफैले देख्न सकूँ’ जुलियाले भनेकी थिइन् ।

भ्यालेन्टाइन्सको जवाफ थियो- ‘भगवानले हामी सबैको प्रार्थना सुन्छन्, तर हामीले उहाँलाई पुरा विश्वास गर्नुपर्छ ।’ ‘ओहो, त्यसो भए त !’ जुलियाले तत्कालै घूँडा धसिन् र हात उठाएर प्रार्थना थालिन् । उनीहरु दुबै शान्तिपूर्वक प्रार्थनामा बसे । त्यहीबेला भर्गोज्योति (चम्किलो किरण) उनीहरु बसेको जेल कक्षमा पस्यो । अचम्मित हुँदै जुलिया चिच्याइन् , ‘भ्यालेन्टाइन्स, मैले देखें, मैले देखें ।’ ‘भगवानको कृपा प्राप्त भएको हो’ भ्यालेन्टाइनसले व्याख्या गरे अनि फेरि बसे प्रार्थनामा ।

मृत्युदण्डको अघिल्लो रात भ्यालेन्टाइन्सले जुलियाको नाममा अन्तिम पत्र लेखे । पत्रमा जुलियालाई भगवानको समीप रहन सुझाएका थिए । ‘तिम्रो भ्यालेन्टाइन’ भन्दै पत्रको पुछारमा हस्ताक्षर गरेका थिए । उसको सो वाक्यांश भोलिपल्ट नै चर्चित भयो । उसको पत्र भोलिपल्ट (१४ फेब्रुअरी, २७० इस्वी सन्) जेलको गेटमा टाँसियो । सोही दिनको सम्झना हो, भ्यालेन्टाइन दिवस ।

भ्यालेन्टाइन्सको शव रोमको प्राक्जाडिस चर्चमा गाडियो । उसको चिहानमा जुलियाले गुलाबी बदामको बोट रोपेर प्रेमभाव दर्शाएको मान्यता पनि छ । अचेल बदामको बोटलाई प्रेम र मित्रताको प्रतीक मानिन्छ । हरेक फेबु्रअरी १४, सन्त भ्यालेन्टाइन र उसले भगवान तथा जुलियाप्रति दर्शाएको प्रेमभावको सम्झना गर्दै, मनाउँदै आएका छौं । प्रेम, भ्रातृत्व, त्याग आदि आदान-प्रदान गरी विश्वमा आत्मीय विस्तार गर्नुपर्ने भ्यालेन्टाइन डेको मर्म हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here