✍ प्रकाश केशी

एकादेशको घना र अदाप्य जंगलभित्र एउटा हुचीलको परिवार थियो । त्यस परिवारका मूली हुचीलले आफ्नो महाकम्प आवाजको हुँकार र कडक उर्दीले जंगलै थर्कमान पारेर राखेको थियो । पहिले पहिले त आवाजको अदपपन र हुँकार नै उसको परिचय थियो । किनभने उसले आदेश गरेपछि त्यसको पालना नभए चराचुरुंगी जगतमा हलचल मच्चिइहाल्दथ्यो । आज्ञा पालना नगर्नेलाई दुबै पखेटा भांचेर शरीरमा बडेमानको चुच्चोले निर्मम चिरफार गरी भित्रि कलेजो निकालेर उसको प्यारी हुचील्नीलाई खुवाउँदथ्यो, आफू पनि घांटी तन्काएर एकैचोटमा निलिहाल्थ्यो । मृत चराको बाँकी शरीर स्याना हुचीलको हूलमा हुत्याउँदथ्यो । स्याना हुचील खुशीले रम्दथे ।

समय बित्न कति नै लाग्छ र ? हुचीलका पुत्र जुनियर हुचीलहरु एक ठाममा बस्न मञ्जूर भएनन् । दाइ हुचील अलि शान्त स्वभावका थिए तर कामुक ज्यादा । सतित्व जोगाउने हैरानीले भाइ हुचीलका हुचील्नीहरुलाई हुनसम्मको पीर परिरहन्थ्यो । उनको यौनाकांक्षा अन्य कद मिल्ने चराचुरुंगीसम्म समागम थियो । एउटा भाले मुनाल त्यो हुचीलको अकर्मण्यताको शिकार भएको थियो । पोथी मुनाललाई जबरजस्ती करणी गरेपछि भेद खुल्ला भनी सत्य छोप्नलाई पोथी मुनालको हुचीलद्वारा चीरहरण गरिएको थियो । त्यो घटनालाई निकैबेर रहस्यमा राख्न सकिने संभावना थिएन किनभने घटनाका प्रत्यक्षदर्शी न्याहूली दम्पति जंगलका अनकन्टार अज्ञात स्थलतर्फ फरार भएका थिए ।

खरानेको रुखमा पाकिरहेका काला फलगेडीहरु निल्दै न्याहूली दम्पति सुस्त भलाकुसारी गरिरहेका बेला अचानक एक्लो विदुष भाले मुनालको कान ठाडो भयो । एक्ले मुनाल आफ्नी प्राण प्यारी पोथी मुनालको खोजीमा कहाँ कहाँ पुगेनन् तर जिउँदो भए पो फेला पर्थ्यो । तापनि उनले माया मार्न सकेका थिएनन् किनभने यो विछोड सायद अस्थायी मात्र हो भन्ने मनभरि विश्वासहरु छरपस्टै थिए । तर जब न्याहूली दम्पतिको खासखुसे बातचित सुनेपछि, चाहिँ भाले मुनालको होस गायब भयो । सत्य के हो भनेर सोध्न झाडीको बुट्यान छिचोल्दै भाले मुनाल खरानेको रुखतिर हान्निए । हुटुटुटु फटट फ्वाट आवाज निकालेर सर्लम्म खरानेको झयाङ्गमा बस्न पुगेका नीलरंगी मुनाललाई देखेर न्याहूली दम्पतिको होसहवास नै गुम्यो । हुचील आएछन् भनेर त्रस्त र स्तब्ध भएका न्याहूल दम्पतिको मनको दीयो तब सुरक्षित भयो जब भाले मुनालको रंग रुप स्पष्ट भयो । भाले मुनालको हालत अत्यन्तै नाजुक भैसकेकोले उडेर बस्दा खरानेको हांगामा स्थान हद सन्तुलन मिलाउन सकिरहेका थिएनन् । धेरै शिथिल र थकित मुनालको शारीरिक अवस्था देखेपछि न्याहूली दम्पतिलाई पत्ता लागिहाल्यो कि त्यो मुनाल त्यही मुनाल हुन् जसको जोइ निर्दयी हुचीलको शिकार भैसकेकी थिईन् जो नृशंसता आफ्नो आँखाले देखेपछि दृष्टिदोषको कारण चस्मद्धित गवाही भएकाले लुकीछिपी भागी हिँड्नु परेको थियो ।

रुघ्न आवाजले सोधनी गर्छन् न्याहुल दम्पतीतिर फर्केर भाले मुनाल -”धन्यवाद, हे प्यारा न्याहूल दम्पति ! के मैले सुनेको तपाईंहरुको गुप्त र सुस्त बातचितमा तथ्य सत्यता छ ? मेरी प्राण प्यारी, त्यो निर्दयी हुचीलको नृशंस शिकार भएकी नै हुन् ? बोल्नुस् सत्य के हो ?” घांटीबाट निस्कन गाह्रो परेको कता कता लड्खडाएको स्वरले पोथी न्याहूल गहभरि आंशु पस्केर भाले न्याहूलतिर फर्की केही शब्दहरु फोर्न खोज्छिन् । भारी मनले थिचिएर भाले न्याहूल सान्त्वना दिँदै यथार्थ बताइदिन पोथीलाई आग्रह गर्दछन् । उनी कम्पित स्वरमा अगाडि बढ्छिन्, -”मुनाल दाइ, हामीले बचाऊखातिर केही गर्न सकेनौं, माफ गर्नुहोला, त्यो पापी हुचीलको पापकर्मले त्यो नरकमा जाने छ, मुनाल दिदी एक्लै थिईन्, सायद तपाईं कतै झाडीमा टाढा विचरणमा हुनुहुन्थ्यो, त्यो सिमसिम झरी परेको दिन, हुचीलको नजिकै थिईन् मुनाल दिदी । हुचीलले अझ नजिक आएर यौन प्रस्ताव राख्यो । दिदीले मान्ने कुरा नै भएन । जबरजस्तीले मुनाल दिदीलाई हुचीलले पापको शिकार बनायो । मुनाल दिदीले तपाईंको नाम कत्ति पुकारेकी थिईन् कत्ति, तर सुनिदिने हामी मात्र भयौं, प्रतिकारमा हुचीलसामु जाने शाहस नै भएन, हामी रुखको टोड्कामा डर त्रास र घृणाले लिपिएर किंकर्तब्यविमूढ लुकिरहृयौं । हुचीलले आफ्नो तृष्णा मेटेपछि मुनाल दिदीको शिथील शरीरमा चुच्चो गाडेर छाती फोडिदिए । त्यो हेर्न नसकेर हामी सास न बास त्यहाँबाट बेग मारेर भाग्यौं, हामी उडेर भाग्दा त्यो पापी हुचीलले देखेको छ र कड्केको थियो “पख” भनेर चिच्याएको थियो जंगलै थर्किने गरेर । मुनाल दाइ ! तपाइको अथाह वेदनामा हामी दुःखी नहुने कुरै भएन, तर पनि भावीले लेखेको त्यस्तै रहेछ ।” यति बोलिसकेपछि पोथी न्याहूल अरु बोल्न सकिनन् । यो कहानी सुनेर भाले मुनाल रुखको हाँगाबाट बेहोस भई भूर्इंमा खस्न पुगे ।

एक दिन होइन, दुर्इ दिन होइन, अचाक्ली भएपछि डांफे, मुनाल, कालिज, न्याहुल, मलेवा, काग, कोइली, ढुकुर, मैना, रुपी, च्याँखुरीदेखि लिएर चीभे चरासम्म हुचीलको शिकार हुनु परेकाले चराचुरुंगी सम्मेलनको आव्हान गरियो । जसको नेतृत्व पीडितमध्येका मुनालले नै गर्ने भए ।

सम्मेलन उपलब्धिपूर्ण रहृयो । सबै मिलेर हुचीलको त्यो परिवारमाथि नै आक्रमण गर्ने निधो भयो । कसैले पनि पछि नहट्ने प्रतिबद्धता ब्यक्त गरे । पूर्वतयारीका लागि बलियो चुच्चोधारी चराहरुले आफ्नो प्रहार हुचीलका आँखामा र नंग्रा दह्रा भएकाहरुले उसको छातीमा एकैचोटि आक्रमण गर्ने भए । स्याना चुरुंगीहरुले हिपहिप हूर्रेको आवाजले हुचीलको मनोवल गिह्राउन अथाह हल्ला गर्ने निर्णय गरे । यसप्रकारले सो सम्मेलनले आक्रमणको अन्तिम खाका तयार गरियो ।

हुचीलको संसारमा पनि पारिवारिक विवादले चरम रुप लिएपछि आफ्ना सन्तानबाहेक अरुलाई नष्ट पारेर एकल मस्तीमा सीमित भएको थियो । जब चराचुरुंगीहरुले धावा बोल्ने यथार्थ थाहा पाए तब उसले जंगल छोड्ने आत्मनिर्णय गरे । परिवारका सबै स्याना ठूला हुचीललाई अनिष्ठबाट बच्न तयारी अवस्थामा रहनका लागि त्यो मूली हुचीलले सतर्क गराए । आक्रमणको सुइँको पाउनासाथ सिमलको रुखको टुप्पोतिरबाट लामो उडानको लागि पखेटा खोल्न तयार रहन पारिवारिक उर्दी जारी गरे । सबै ठूला स्याना हुचीलहरुले मुटु कमाउँदै ध्यानले सुनी गुरुमन्त्र स्वीकार गरे ।

कलिलो घामको किरणले जंगलका रुखपातका मुनालाई छोइसकेको थियो । हुचीलको परिवार निन्द्रामा हुँदै आक्रमण गर्ने हिजोको अन्तिम निर्णयबमोजिम काग, चीभे, रुपी र न्याहुल अग्रपङ्िक्तमा बेग मारेर हुचील परिवारको बासस्थान सिमलको बडेमान रुखतिर हान्निए । मुनाल, डांफे, कोइलीहरु अन्य चराचुरुंगीहरुलाई एकत्र पार्दै रणसंग्रामस्थलतर्फ नै हान्निए । नभन्दै धावा बोले चीभे, काग र चीलको हूलले । निन्द्रामा झोक्रिएका हुचील परिवारलाई असंख्य चराचुरुंगीको एक्कासी हमला भएपछि भाग्नलाई पखेटा खोल्नसमेत नपाई चुच्चो नै चुच्चोको प्रहारबाट सबै हुचीलका आँखाहरु फोडिए । नंग्रा बलिया भएका चराहरुको प्रहारले हुचीलका छाती च्यातेर छरपष्ट पारिए ।

हुचील परिवारको अन्त्यपछि त्यो जंगल शान्ति र अमनचयनको जंगलमा परिणत भए पनि न्याहूली दम्पतिको मनमा पोथी मुनालमाथि गरिएको नृशंस दृश्य नाचिरहन्छ । जब सिमसिम वर्षा हुन्छ, दिल नै चर्किने भावभंकित आवाजमा न्याहूलीले विरहको विलौना कहन्छिन् । जंगलमा अझै विरहको हृदयविदारक न्याहूलको विलौना सुन्न सकिन्छ, जब सिमसिम वर्षाले न्याहूललाई मुनालको अस्मिता हरणसँगै चीरहरण गरेको सदृश्य याद दिलाउँछिन्, त्यसपछि जब उनी भक्कान्निएर रुन्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here