​न त कसैले सोध्यो, न त कसैलाई सुनाइयो, न त हेर्दा देखियो, न त हेर्नेले देखे केवल आफैले महसुस गरेँ म भित्रका ती अदृश्य अनि मौन दुखाईहरु । हो छोरी, धेरैले सोधे मलाई तिमी कस्तो थियौ भनेर । पराई बनिसकेको तिम्रो निम्ति कति आँसु झार्छौ भनेर । धेरैले सोध्दैछन् मलाई आँशुको मूल्य कति पर्छ भनेर ? तर म मेरो अर्थहिन आँशुको मूल्य कसरी निर्धारण गरुँ जबकि तिमीले मलाई सित्तैमा दिएर गयौ । कस्तो हुँदो हो मान्छेलाई रुन नपरे, कस्तो हुँदो हो मान्छेलाई मर्नै नपरे । स्वास प्रस्वास गर्न छोड्नु, भोग विलास गर्न छोड्नु, सांसरिक जीवनबाट टाढिनु मात्र मर्नु हैन नि, हैन र ? त्यसो त मलाई ढोंगी र नामर्द पुरुषको दर्जा देलान यी समाजहरु । के यी दर्जा पनि त मेरो यो अर्थहिन जीवनको एउटा पाटो हैन र ? खैर, धेरै रोएँ जीवनमा । कहिले आफन्तीबाट चोट पाएर रोएँ, कहिले भाग्यद्वारा लात खाएर रोएँ । म रुँदै थिएँ, म रुँदै छु अनि रुँदै हुनेछु । फरक यति हो कहिले धोका पाएर रुन्छु, कहिले चोट खाए रुन्छु त कहिले वियोगमा बिरत्तिएर रुने गर्छु ।  जलिजलि बाँचिरहेको छ यो मेरो यो सिङ्गो जीवन कुनै मसानघाटको चिता बिनै, पल पल सजाय पाइरहेको छु यो सांसरिक जीवनबाट कुनै कसुर र सजाय बिनै ।

हो छोरी, म तिम्रो बिछोडको आँसुबाट मात्र हैन यो समाजको अपहेलनाबाट पनि कण कण गलिरहेको छु । थाहा छैन कुन बेला पुरै तरलिएर तिमी भएको ठाउँमा आइपुग्छु । मान्छेहरू किन यति धेरै स्वार्थी र निस्ठूर हुन्छन् ? किन उनीहरू अर्काको मन भित्र उम्लिरहेको ज्वालामूखी र डडेलो लागीसकेपछिको उजाड बस्तीमा आँखा लगाउँदैनन् ? तिमी मेरो हर निसाफको न्यायाधीश हौ, मेरा हर सवालको फैसलाकर्ता हौ ।

चैतको महिना, उराठिलो बाताबरण, शहरैभरी फैलिरहेको कोलाहल र प्रदुषणभित्रको सानो कोठाभित्र उकुसमुकुस हुँदै बसिरहेको शरणार्थी म । कालो रात, मनभरी खेलिरहेको आशा र निराशाको तिता मिठा बात, विश्राम लिन सकिरहेको थिएन मेरा आँखाहरु । मोबाइल थियो एउटा साथीको रुपमा जसले जुनसुकै समय जुनसुकै खबर दिन सक्थ्यो शुभ वा अशुभ । रातभरि खुल्लै थिए बिजुली बत्ति तर मनभित्र एक किसिमको कालो तुवाँलोले सिङ्गै कोठा मात्र नभएर सारा ब्रमाण्डनै अँध्यारो बनाइरहेको थियो जुन कालो ब्रमाण्डको बिचबाट कुँहिरोको बिचमा रुमलिएको कागझैँ पिर र ग्लानीको अपार्दशी बादलको बिचमा रुमलिरहेको आसे मन शुभ खबरको आशमा भौतारिरहेको थियो ।

दस बज्यो अनि छिनभरमै एघार पनि बज्यो । मोबाइल हातमा लिएँ अनि अल्मलिएका बुढी औंलाहरु सल्बलिन थाले स्क्रिनको पूर्वी, पश्चिमी, उत्तरी र दक्षिण ध्रुब तर्फ अनि अनि ठक्क अडिए थकित नयनहरु एउटा नाममा दृष्टि पर्नसाथ । त्यो नाम कुनै रहस्यमय र नौलो थिएन तर निकैनै महत्त्वपूर्ण भएर देखा पर्यो कमसेकम त्यो क्षणमा । “रिना” यानकी मेरो भाउजुको नाम थियो । जुन भाउजु मेरो बिरामी छोरी यानकी भतिजीको साथ काठमाडौको अस्पतालमा थियो । त्यस नाममा सेभ भएको नंबरमा फोन लगाएँ । फोन लाग्न युगौँ लागेर भएपनि घण्टी गएरै छोड्यो, आठ दस घण्टी गएपछि फोन पनि उठेरै छोड्यो ।

“हेल्लो, कस्तो छ भाउजु नानीलाई ?” मैले प्रश्न गरेँ ।

“नानीलाई अन्तै लानुपर्ने भयो रे । आइसियुमा राख्नुपर्छ भन्दैछ डक्टरले…” उताबाट जवाफ आयो । “ल ल, केई हुन्न राम्रोसँग केयर गर्नु…” यति भनेर मोबाइलको स्क्रिमको रातो भेगमा स्पर्श गरेँ । तत्काल लाइन कट भयो अनि मोबाइल सिरानीमा राखेर निदाउन पहल गर्न लागेँ । मनभरी पिर र ब्यथा बोकेर कसरी निदाउन सक्थ्यो र यी आँखाहरु । यता फर्किएँ, उता फर्किएँ तर अहँ मरिगए निद्रा लागेन । 

आँखाले आजको दिनसम्म अनुभव गर्न नपाएको सुन्दर संसार, मनमोहक दृश्य, सुन्दर बगैंचा र फूलबारीहरु थिए । फूलबारीभित्र राता, सेता, पहेँला, काला, निला, गुलाफी, हरिया लगायत थरिथरिका फूल फूलिरहेका थिए । मेरो सिरमा तिनै फूलबारीको एउटा फूल सिउरिएको थियो । सुन्दर संसारमा डुलिरहेको प्रशन्न मन बास्तवमै तृप्त, सुखी र हर्ष उल्लासपूर्ण थिए ।

कता हो कता नमिठो आवज आयो । कुनै अपरिचित र अदृश्य प्राणी झाँक्रि जस्तै गरि झ्याँई झ्याँई झ्याँई गर्दै नजिकिन थाल्यो । म आत्तिएँ, चिच्याउन खोजेँ, भाग्न खोजेँ तर अहँ मेरो कुनै जोड चलेन । सारा मनमोहक संसार छिनभरमै अँध्यारोमा परिणत भयो औंसीको रात जस्तै । सास फेर्न निकै गाह्रो महसुस भयो मलाई । जोड लगाउँदै सास फेर्न खोजेँ तर निकैबेर निस्सासिएँ । छट्पटी गरेर यताउता हात लम्काएर चिच्याउन खोजेँ तर सकिन । भाग्न निकै खोजेँ तर खुट्टा लागेन । म बुरुक बुरुक उफ्रिँदै कराउँदै भाग्न खोजेँ तर सकिन । त्यो अजंग अदृश्य प्राणी नजिकै आयो र मेरो सिरको फूल टपक्क टिपेर लिइदियो अनि गयो रमाउँदै निकै पर कालो बादलको बिचतिर अनि बिलाए त्यहीँ भित्र ।

ओहो कस्तो नराम्रो सपना… कस्तो आत्तिने गरि ऐठान भएको रहेछ मलाई । उता छोरी हस्पिटलको आईसियुमा, यता मेरो त्यस्तो डरलाग्दो सपना । मेरो सम्पूर्ण शरिर गल्यो । म बेचैनी भएँ । थाहा थिएन मेरा पापी पनले किन त्यस्तो नानाथरी कुकुल्पना गर्यो त्यो पलमा, जुन पल मेरो जीवनको सबैभन्दा सेन्सेटिभ पल थियो ।

फोन सिरानीमुनीबाट झिकेँ । एक किसिमको हतास र डर मिश्रित बाह्य शक्तिले शासन भएको मेरो शरिर फोनसम्म चलाउन सक्ने स्थितीमा थिएन । फोन लगाएँ फेरि उहीँ पुरानै नाउँमा तर फोन लागेन । फोन नलाग्नुमा नेटवर्कको र फोनको दोष थिएन बरु मेरो लाचारीपनको थियो । कारण मोबाइलमा ब्यालेन्स सकिएको थियो । बिहान हुन अझै बाँकी थियो । तर, मेरो खुसीको बिहान होला नहोला त्यो दैवको हातको फैसला थियो । 

एकाबिहानै सधै जसो जिस्किने-जिस्काउने, चल्ने-चलाउने, हान-थाप, भनाभन-सुनासुन, झै-झगडा हुने मिना कोठामा देखा परिन् । सधैं जसो कोठामा आउँथी अनि सोध्थी – “ए कान्छा के गरिरहेको हो ?” मैले बेसारे जवाफ दिन्थेँ – “एक्लै के गरेको देख्यौ र, एक्लै काम गर्न मिले यो संसारमा केटा र केटी जातीको किन संरचना बन्थ्यो र ?” अनि यसरीनै हुन्थ्यो हाम्रो एक किसिमको आत्मिय झगडा अनि शारिरिक स्पर्श जहाँ एक अर्काको यौवनको छाडा चरित्रहरु छताछुल्ल हुन्थ्यो अनि मिस्सिन खोज्थ्यो हामी दुबैको जवानीहरु एकत्रित भएर । तर, त्यो जवानी पोखिन दिनु एक किसिमको पाप जस्तै थियो मेरो लागि । जुन पापबाट म आफूलाई र आफ्नो वासनारुपी मनलाई कयौंपटक पिल्सिएर राखेको थिएँ ।

मनमा पिर थियो त्यसैले म कसैसँग जिस्किने सुरमा पनि थिएनँ । उसको मुहार देख्दा लाग्थ्यो मानौं ठूलो चिन्तामा परेको छ । दाहिने हातमा होल्डमा राखिएको मोबाइल फोन थियो भने मुहारमा एक किसिमको कालो बादल । लाखौं कोसिस गरेर उसको मुहार पढ्न खोजेँ तर मेरो उसँगको सामिप्यताको विगत दुई बर्षदेखीको अध्यनले पनि रहस्यमय मुहारको ती कालो पर्दाभित्रको स्वरुप ठम्याउन सकिन ।

असमाञ्जस्यताको त्यो रहस्यमय पलमा उसलेनै केही प्रतिक्रिया दिँदै फोन… भाउजुको… भनेर आफ्नो फोन मेरो हातमा थम्याएर बाहिर निस्किई । मेरो मोबाइल खुल्लै थियो । तर अचानक फोन मेरोमा नआएर मिनाकोमा अनि मिनाको मुहारको त्यो न्यास्रोपन । पक्कै केही गडबडी भएर होला । मुटुको धड्कन बढ्न थाल्यो मेरो । लाग्यो मानौँ जीवनकै ठूलो परिक्षाको नतिजा घोषणा हुँदैछ मेरो ।

फोन कानमा लगेर बोलेँ – हेल्लो । फोन उठाउने बित्तिकै उताबाट पहिले “सुँक्क” को आवाज आयो अनि “हेल्लो” अनि फेरि सुँक्क, सुँक्क, सुँक्क, हिक्का, हिक्का, हिक्का… भाउजुसँग छोरीको बारेमा सोध्नै आँटेको थिएँ तर प्रश्न सोध्नै नपाई मेरो मन फिक्का भयो । 

आएछ दैव, टिपेछ टप्प, लगेछ शिरको फूल, सृष्टिको नियम भन्छ यसलाई भनौँ कसको भूल । भाउजु कहानी सुनाउँदै थिई – “बिहान चार बजेसम्म त ठिकै थिई, तर अहिले नानी छैन ।” मलाई सारा धर्ती आकाश फाटे जस्तै भयो, मुटुको टुक्रा काटेजस्तै भयो । मेरो संसारमा प्रलय आए जस्तै भयो, सारा खुसी जीवनबाट गएजस्तै भयो । जुन भतिजलाई छोरी सम्झेँन्थे उसैले मुटु छिया छिया पारेर गई झन, संसारलाई जित्ने बनाउँछु भन्थेँ तर आफै हारेर गई झन् । मेरो छोरीले अन्तिम सास लिने बेलामा अंकल नजिक देख्न नपाउनु उसको मात्र गल्ती थिएन, आज एक्लै रुँदै यो कथा लेख्न खोजेँ तर उसको यादले आँखा भरिन्छ मेरो अनि आँसुले पूरा कथा लेख्न दिएन…।

अबेला सुतेपछि मध्यरातमा पहिलो निद्रामै मेरो छोरिलाई बुई चढाएर हिँडेको सपना देखेँ अनि मनको बह पोख्नलाई कोही छैन मसँग, त्यसैले यो कथा लेखेँ… 

You are not dead my baby, you are in my heart, you are in my everyday art, you are no longer but you will be always alive into my literature… I miss you baby! miss you a lot.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here