​ट्रिरिररङ्ग ट्रिरिरङ्ग ट्रिरिरङ्ग…. मोबाइलको अलराम बजेपछि निद्रा खुल्यो। मोबाइल हातमा लिएर समय हेरेको पाँच बजेको रहेछ। ओहो! आज त क्याम्पस जानु छ ह्यात्तेरिका! क्याम्पसमा पहिलो दिन अलिक छिटो जानुपर्ने कस्तो अबेलासम्म सुतिएछ। झन् आज बिहानै उठ्नुछ भनेर हिजो अलिक चाँडो सुतेको धत्तेरीका कस्तो कुम्भकर्ण भएछु यो प्लस टु दिएपछि त। गाउँमा पो अबेलासम्म सुते कचकच गरिहाल्थ्यो बाबाले तर शहरमा के काम जति सुतेपनि मतलब हुन्न अनि बिहान आठ बजेसम्म सुत्छु पनि। आफू एक्लै गनगन गर्दै कपडा निकालेर लगाँए। र्र्याकमा भएको ब्रुसले पालिस् लगाएर जुत्ता टल्काएँ अनि लगाएँ । चिया र पाउरोटी खाएर झोला बोकेँ । बाथरुम बाहिर रहेको ऐना हेरेँ । कपाल अलिक बिग्रेको रहेछ जेल लगाएर ठाडो पारेँ अनि निस्किएँ ठाँटिएर घरबाट। मंसिरको महिना, घाम अल्छि हुने समय अर्थात ढिलो झुल्किने समय उसको दर्शन पाउन अझै कमसेकम पाँच घण्टा प्रतीक्षा गर्नुपर्थ्यो। सिरसिर मुटुको कन्दरा कन्दरा छुने गरि चलिरहेको सिरेटो, सिमसिम पानी जस्तै गरि परिरहेको चिसो शितका थोपाहरु अनि कालाकाला कुरुप हुस्सुका झोप्काहरु। जीउमा पन्जादेखी लिएर मोजासम्म गन्ति गर्दा करिव चौबीस थान कपडाहरु थिए तर अझै च्यालेन्ज गर्दै थियो चिसो मौसमले। मैले हारेँ, मैले घुँडा टेकेँ जुन कुरा मेरो आकाश पातल दिशामा अवस्थित मेरा दन्त लहरहरु एकअर्कासँग ठक्कर खाँदै आइरहेको टिक टिक टिक टिक आवज र मुखबाट निस्किएको अनायसै वायु मिश्रित आच्छ्युको आवजले प्रमाणित गर्दै थियो । 

एकछिनको सकसपूर्ण पैदलयात्रा पश्चात् चोकमा पुगें। बस् आउन निकै समय लाग्यो । म अलिक रिसाहा स्वभावको मान्छे, फोकटमा रिसको पोका दुध उम्लेझैं उम्लेर आएथ्यो तर के गर्न सकिन्थ्यो र प्रतिक्षा शिवाय कुनै विकल्प थिएन। हिडेरै जाउँ, त्यो त झनै सम्भवनै थिएन। चोकमा म जस्तै कयौं विद्यार्थीहरु बस पर्खि बसिरहेका थिए तर मान्छेको अनुहार पहिल्याउन सक्ने स्थिति थिएन। डम्म लागेको कालो हुस्सुले गर्दा साँडे सानुन्ने आएर आएर आफ्नो सिङमा सिउरेर गइसक्दा समेत चाल नपाउने स्थिति थियो। 

दस पन्ध्र मिटर पर बस कराएको सुनेँ रोक्ने इशारा गरेँ तर रोकिएन कारण मैले बस भनेर ट्रकलाई इसारा गरेछु। आफैभित्र काउकुति लागेर आयो नहाँसी बस्न मनले मानेन अनि धित मारेर हाँसिदिएँ आफू एक्लै। कसैले भन्दै थियो बस आयो, बस आयो… मैले पनि हात हल्लाएँ। बस् रोकियो। बस हिँड्नुभन्दा अगाडि लाटोकेसेरोझैँ झोक्राएको मान्छेहरू बसको तेस्रो सिटबाट देखिरहेको थिएँ मैले। मलाई सुर्तीको गन्ध मन नपर्ने मेरै अगाडी थप थप थपडी बजाउँदै सुर्ती माड्न थाल्यो एउटा लोग्ने मान्छेले। म झोला लिएर लास्ट सिटतर्फ हानिएँ।

बस भित्र निकै ह्यान्डसम् र बुलेट केटीहरु थिए। मैले सबैतिर नजर डुलाउन भ्याएन यसो छेवैमा आँखा पुर्‍याएको सुन्दरी केटी रहिछ उनले मलाई बस्नुन भनिन्। मैले नाई भनिन बसें पनि। हामी दुबै मौन थियौँ। यस्तो लाग्थ्यो हामी डराएको छौँ एक अर्कासँग जसरी डराउँछन कुकुर देखि बिरालो अनि बिरालो देखि मुसा… ।

यौवन अवस्थामा यति राम्री केटी अझ भएन एउटै सिट मैले नै बोल्ने मेलो झिकेँ । बोलचाल सुरु भयो, मालेबगरबाट भन्ने ठाउँबाट आएकी रहेछ बि. एड. फस्ट एयरमा अंग्रजीनै तहमा नै पढ्दो रहेछ, मलाई लाग्यो साथी त भइहाल्यो।

भानुभक्त क्याम्पसमा झर्नुपर्ने मान्छे गेट नाघेर गइसक्दा पनि थाहा पाएन रहेछु अनि उनले हजुर भानुभक्तमा हैन र? झर्ने ठाउँ त गइसक्यो भनेपछी झसङ्ग भएँ अनि तिमी नि, उनले म त पञ्चामुनी भनि। मलाई १२० भोल्टको करेन्टको झड्का लागेजस्तो लाग्यो अनि खलासीलाई ओ दाई भाडा मात्र उठाउने कि पेसिन्जर झर्ने ठाउँ पनि हेर्ने हो? कस्तो साइको हुनुहुँदो रहेछ यार तपाइँ त सम्म भन्न भ्याएछु। तर वास्तवमा “साइको” भनेको के हो आफैलाई थाहा छैन डिक्सनेरी वा विकिपेडिया अथवा गुगलमा हेर्न बाँकिनै छ। यार त्यो त हेर्दै गरुम्लानी पछि टाइम मिलाएर। आफू झर्ने ठाउँ आफूले पो याद गर्नुपर्‍थ्यो बुद्धु मनमनमा आफैलाई भनें तर आफूलाई केटीको अगाडी हिरो सावित गर्नु थियो मुखमा ट्यापेले बोल्ने शब्द फुत्त निस्किहालेछ। ड्राइभरले बस रोक्यो म त्यो केटीलाई नाइस टु मिट यु भनेर ओर्लिएँ। ओहो कस्तो भुलक्कड म, उनको नाम पनि भुलिछ, हतारमा फेरी नम्बर पनि माग्न पाएन। नाम थाह भए त गुगलमा आमाबुवा पाउन लागे त्यो केटी कसो पाउथेन हुँला र। एकछिन गफ निकै मिठो चल्यो। यो आत्मियता भन्ने कुरा पनि कस्तो जति छोटो उति मिठो। मैले त्यो पाँच दश मिनेटमै यति गहिरो आत्मियता महसुस गरें त्यो नाप्न मुटुको धड्कन नाप्ने मेसिनले पनि सायद क्याच गर्न सक्दैनँथ्यो होला तर मैले त्यो कष्ट गरिन जे होस् मैले अरु साथीकोझैं उनको के कमजोरी थियो पत्ता लगाउन नसकेपनि खलासीलाई हप्काइहालें यहिं त होला केटीहरुको केटालाई हातको औंलामा नचाउन सक्ने शक्ति हुन्छ र अनौठो साहस पनि भरिदिन्छ भनेको। त्यो केटीले मलाई औंलामा नचायो कि नचाएन त्यो त उनैलाई भटेर सोध्नुपर्ला। तर साहस भने साँच्चै भरिदिएको हो, नत्र त म जाबो यत्रो फुच्चे मान्छेको कहाँबाट आउँथ्यो त्यत्रो खलासीलाई थर्काउन सक्ने साहस निमोठेर फालिदियो भने भकुन्डोझै गुल्टिन्थें होला म डल्ले फर्सीझैं।

मंसिरको महिना, कलेजको नयाँ परिवेश, सिरसिर चलिरहेको चिसो बतास, चारैतिर सुनसान वातावरण, आँखै नदेख्ने गरि लागेको कालो हुस्सु, गाउँकै हास्कुलमा प्लस टु गरेर कलेज पढ्ने सपना बोकेर शहर छिरेको, मनमा एक किसीमको उकुसमुकुस त थियो नै। भानुभक्त बहुमुखी क्याम्पस लेखेको गेट भित्रबाट छिरें, कलेजको पालेलाई ट्वाइ लेट सोधें, पालेले औंलाले देखाइदियो, म गएर पिसाप फेरेर बाहिर आएँ। सबै अपरिचत थियो, कसलाई सोधुँ बि. एड. फस्ट एयरको कोठा कुन हो भनेर मनमा एक किसिमको आत्तेस जागिरहेको थियो। जे होस् परेपछि टरिंदो रहेछ एउटा कोठामा बत्ति बलिरहेको थियो। नजर डुलाएको एउटा केटी मोबाइल खेलाउँदै रहेछ। मैले उनको ध्यान म तिर मोड्दै भनें एक्सक्युज मि, बि. एड. फस्ट एयरको क्लास कुन चाहिं होला? उनले मतिर फर्कँदै भनिन् खै म पनि धेरै भएको छैन आएको जम्मा दुई दिन। आउनुन भित्रै कोहीं आएको छैन। मलाई कोही आएको छैन भनेपछी ढुक्क भयो समयमै आइपुगेछु भनेर। म उनी बसेको ठाउँमा बस्दै वाई द वे तपाईको नाम? मैले सुरुमै नाम सोधें। खै समिक्षा भनेझैं लागेथ्यो फेरी दोहर्‍याएर सोध्न न्यायोचित लागेन। उनले हजुरको नि मैले बिकास। अनि कहाँबाट आउनुभएको, कहाँबाट एस्एलसी, गर्नुभएको, कहाँ बस्नुहुन्छ भनेर सोध्यो लागेथ्यो रेडियोमा एउटा कार्यक्रम प्रस्तोताले मेरो इन्टरभ्यु लिंदै छ। मैले पनि मल्याङ्कोट स्याङ्जाबाट आएको; खड्गकाली मा.बि. मल्याङ्कोटबाट एसएलसी, महेन्द्र उ.मा.बि जगतभञ्ज्याङ बाट प्लस टु गरेको, अनि हाल खैरेनिटार बस्दै छु भनें। मैले उनलाई उनैले गरेको प्रश्न उल्ट्याएँ ब्राइट चोकमा बस्दो रहेछ, खैरेनीकै हाइस्कुलबाट प्लस टु गरेको र अहिले वि. वि. एस्. मा भर्ना भएको रहेछ। हाम्रो यति कुरा सक्न साथ सबै कलेज पढ्ने बिद्यार्थीहरु आए। मैले एउटा अग्लो क्याप भएको केटालाई सोधें, ऊ पनि मेरै तह र शिक्षा संकायमा नै पढ्ने रहेछ। नाम उसको सुमन रहेछ। साथी बनाइहालें मैले उसलाई अनि सँगै कक्षाकोठामा छिर्‍यौ हामी। कक्षामा जताततै केटीहरुमात्र देखिन्थ्यो केटा भनेको सुमन र म मात्र। अंकलको उमेरको एउटा मान्छे कक्षामा आयो। गुड मर्निङ सर! को सामुहिक आवज कक्षा कोठाभरी फैलियो। हामीलाई पढाउने शिक्षक सुमनले कानमा खुसुक्क भन्यो। मैले नाम के हो भनें उसलाई पनि थाहा रहेनछ। आएर डाइरेक्ट नोट लेखाउन थाल्नुभयो। म त ट्वाल्लै कुन बिषय पढ्दै छौ त्यो पनि थाहा भएन। कपि कलम झिक्दाझिक्दै भनिहाल्नुभयो मैले हतारहतार दुईचार लाइन छोडेर नोट सारें र छोडिएको जति सुमनको कपी हेरेर सारें। कस्तो सिस्टम नभएको सर रैछ यार, हामी जस्तो नयाँ विद्यार्थीलाई स्वागत गर्ने, परिचय गर्ने हुन्छ नि तरिका तर बुढोले केही गरेनँ। आफ्नो लेक्चर सकेर निस्कियो, मैले सुमनलाई सोधेँ हामी कुन बिषय पढ्यौ ऐले? उ हाँस्यो र खै लिङ्गुइस्टिक कि केहो भन्छ। जाम अब भनेर कक्षाबाट निस्कियौ। बि. एड. पढ्ने सबै जना एउटै कक्षामा बस्दा पनि केटीहरु चालिस पचास जना तर केटाहरु जम्मा चार पाँच जना थियो। म छक्कै परें किन कलेजमा केटीहरु मात्रै छ भनेर। जाबो त्यति केटाहरुपनि केटीलाई जिस्काउँदै थियो म चुप लागें। सबै मिलेर खनियो भने नमस्ते भन्दै खुट्टा ढोग्नु शिवाय अरु उपाय हुन्थेन।

एक पछि अर्को गर्दै सर पढाउँदै जाँदै गर्नुभयो तर कसैले आफ्नो परिचय पनि दिएन मलाई नत मेरो परिचय खोज्यो। कक्षामा शिक्षाशास्त्र पढाउने सर पस्नसाथ हल्ला खल्ला मच्चिन थाल्यो। उहाँ अलि हँसिलो स्वभावको हुनुहुँदो रहेछ। उहाँ बोल्नसाथ त्यो अगाडी बस्ने केटीहरु मुर्छा परेर हाँस्थ्यो तर मलाई किन हाँस्दैछ उनिहरु पत्ता भएन। यस्तो लागेथ्यो सरको एक एक शब्दले उनिहरुलाई काउकुती लगाइरहेको छ। नत्रभने त्यती हाँसो लाग्ने कुरा त केहीँ गर्नुभएको थिएन अथवा सायद वैश चढेको भएर होला। नेपाली पढाउने मेडम आउने बित्तिकै कडा स्वरमा भाषाण सुनाउन लाग्नुभयो, हल्ला गर्न मन लागे बाहिर जाने भनेर सन्किनुभयो। मैले कति कडा रहेछ मेडम त मनमनै सोंचें। दुई जना केटीहरु मेडमले पढाउँदा पढाउँदै बाहिर अनुमतिनै नलिइ निस्कियो। मलाई लागेथ्यो सायद केहीं काम परेर गएको होला अहिले आउँछ तर पुरा घण्टीसम्म पनि आएन। हिजोसम्म कलेज जिवन कस्तो हुन्छ होला भनेर उठ्ने मन भरिको प्रश्न आज एकै दिनमा थाहा पाएँ मैले। कलेज भनेको नर्सरी कक्षा जस्तै रहेछ पढ्न बस्नै पर्छ भन्ने नहुने र कलेज पढ्नेहरु चाही नर्सरीमा पढ्ने केटाकेटी जस्तो मन लागे बस्ने, नत्र बङ्क हान्दिने अथवा कसै नभए कक्षामा हल्ला गर्दै बस्ने। म संगैको बेञ्चमा बस्ने केटाहरु पनि कहिले अगाडी, कहिले पछाडी, कहिले दायाँ, कहिले बायाँ गर्दै कक्षाकोठामै भ्रमण गरिरहेका थिए। यस्तो लागेथ्यो रगत चुस्न लागेको जुका यता र उता भौताररहेको छ। कलेजको पहिलो दिनको अन्तिम् सर जुन मलाई पहिलो नजरमै प्रभावित पार्न सफल हुनुभयो। खै नाम त थाहा भएन तर मेरो बिहान देखिकै मनमा खड्किरहेको सिस्टमको तिर्सना उहाँले मेट्नुभयो। आउनसाथ मेरो परिचय गराएर यति मिठो पढाउन थाल्नुभयो, सायद पहिलो दिनको बेस्ट टिचर अफ द कलेज उहाँनै बन्नुभयो मेरो लागी। जेनेरेसन भन्ने ऐच्छिक अंग्रेजी पढाउनुहुँदो रहेछ। तर अन्तिमको उहाँको बोलीले मलाई साह्रै नरमाइलो बनायो कि उहाँ अब हप्ता दिनमै सरुवा हुनुहुँदै रहेछ। मलाई आफ्नै भाग्यसंग प्रश्न गर्न मन लागेथ्यो त्यतिबेला किन जुन चिज मेरो लागी प्यारो बन्छ उहिं चिज टाढा भैदिन्छ भनेर तर केही छैन उहाँको पहिलो दिनको त्यो शालिन ब्यवहारनै मेरो लागी एउटा मिठो क्षण भन्नेछ भन्ने कुरा खेलाउँदै म घर फर्किंएँ।
साथीहरू भन्नेले त भन्छन् “campus is just time pass” तर भन्नेहरुले जे भनेपनी स्कुल स्कुल नै हो चाहे त्यो कलेज होस् चाहे युनिभर्सिटीनै किन नहोस् अनुशासनको अनौठो कडि हुन्छ विद्यालयमा जसभित्र हामीले आफूले आफैलाई सिमान्तकृत गर्न बाध्य हुन्छौं। आफ्नो स्वतन्त्रताको नाउँमा नचाहिने भद्रगोल मच्चाएर के पाइन्छ? 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here