​कति महान हुँदो हो ती भगवान जसले आम मान्छेहरुको सृष्टि गर्‍यो अनि एकदिन सबको अस्थित्व मेटाउँछ जरुर । फरक फरक रुप रंग, बोलीवचन, आनिबानी र सबैको छुट्टै किसिमको ढाँचा तयार गरी हरेकलाई हाँसो, आँसु, दुःख, सुख, भावना र सम्वेदनाको भुमरीमा फ्याँक्छ अनि कथाको पात्र बनाउँछ जरुर । त्यस्तै जीवनरुपी कथाको एउटा दुःखी पात्र हुन उनी जसले आफैभित्र एउटा सिङ्गो कहानी र इतिहास बोकेको छ । आमाको अनुहार कस्तो थियो हेक्का राख्न नपाउँदै मातृस्नेहबाट बञ्चित बनेकी उनी सात बर्षको उमेरमा बाबाको शेषपछि पूर्णरुपमा टुहुरी भएकी थिई । भोक, प्यास, रोग र शोकसँग राम्ररी परिचित छिन । दुःख र कष्टमा हुर्किएकी सौतेनी आमा र जोइटिङ्ग्रे बाबाको हातबाट मीठो मसिनो र ताजा खाना कहिल्यै खाइनन् उनले । एउटा अपाङ्ग दिदी र एउटा भाई थियो उनको बूढो बाबाको भरमा तर सानो छँदै छोडेर गई उनीहरुलाई आफ्नो दिदीले सधैंका लागि भगवानको घरमा । 

कयौं दिन मागेर खाए, कयौं दिन चाकरी गरेर खाए त कति दिन भोकै बसेर उनको बालपन गए । गोठालो जानु, घरभित्र र बाहिरको सारा काम धन्दा गर्नु, कपडा धुनु, बच्चा भुलाउनु उनको नियमित काम बन्यो साहुकोमा । रक्सी पार्ने र भाँडा धोएर बस्दा बस्दा हिजो, आजो, भोलि र पर्सि गर्दा गर्दा बितिहाल्यो उनको कलिलो अवस्था । अब साहुको भट्टीमा रक्सी पिउनेहरु रक्सीसँगै उनको जवानीको समेत नसा पिउन थाले त उनी आफ्नो अभागी पुर्पुरोलाई सराप्दै जीवन जिउन थाले । मधेसमै जन्मिएकी, बाबा आमा दुबै नरहेपछि पहाडको घरमा ल्याएर राख्यो साईँला बा ले । छोरी चोलीनै हो, आखिर पराइको बन्न त पर्छ नै उनी पनि बनिन् पराइको एक जर्किन रक्सीसँग साटिएर आफ्नो बज्यैको हातबाट । बिहे पश्चात् पनि कयौं दुःख र कष्टहरुसँग कबड्डी खेल्दै सात जीवित र सात मृत बच्चाको आमा बनिन् उनी । तिनै दुःखी र अभागी पात्र हुन मेरो आमा, जसको जीवनकालमा कुनै सुख सयल भन्ने कुरा देखिएन अनि कुनै हाँसो खुसी र उमङ्ग पनि आएन । रुपले ढपक्क बलेकी, गहना र राम्राराम्रा बस्त्रले छपक्क छोपिएकी छैन मेरो आमा । जो कोहीले परैबाट चिन्न सक्छन । झुत्रो कपडा लाउँछिन तर आफ्नै पसिनाको धाराले बनेको उन हो, अध्यारो रातरुपी मेरो जीन्दगीको गोधुलीलाई झलमल्ल तुल्याउने पूर्णिमाको जुन हो । खाना पस्केर बाड्दा बाड्दै सकिँदा उसको भोक एक्कासि हराउँथ्यो, आफू दुई छाक नखाएर मेरो तीन छाक पेट भराउँथ्यो त्यहीँ महान, कहिल्यै भोक नलाग्ने महिला हुन मेरो आमा । मैले थपीथपी भात खाएर हात पुछ्दै गर्दा भान्सामा पनियोले कसौँडी कतर कतर गरेर कोतरीरहेको आवाज सुनेको त्यहीँ थिएँ धुन मेरो आमाको ।

दुःखी आमाको कोखाबाट छैटौं सन्तानको रुपमा जन्मिएँ । जन्मिने बित्तिकै बाबाले हातमा लिएर भविष्यवाणी गरे मेरो – “यो केटा काले र डल्ले हुन्छ, निधार सानो छ अभागी हुन्छ, आँखामा कोठी छ अलिक बढीनै रुनुपर्छ, एकोहोरो हेर्छ एकान्त प्रिय हुन्छ अनि नाक फैलिएको छ कि कुख्यात कि प्रख्यात हुन्छ ।” ‘मुखले बोल्न सकोस्, पाखुरा चलोस् अनि खुट्टाले हिँड्न सकोस् मेरो छोरालाई त्यति भए पुग्छ…’ भनेर वर माग्यो बाबाले भगवानसँग अनि भगवानले पनि त्यती मात्र बरदान दिए जुन मेरो महत्वकांक्षी मनलाई आज अपुग भइरहेको छ । कहिलेकाही गुनासो गर्न खोज्छ स्वार्थी अहमले बाबासँग किन तिमीले मेरो निम्ति मनमा शान्ती र उमङ्ग, ओंठमा हाँसो, मुस्कान र प्रसन्नता अनि धैर्यता र सहने क्षमता मागेनौ भनेर तर जब बाबाको निष्चल मुहार हेर्छु तब सबै उत्तर पाउँछु । मेरो भाग्यमा दुःख सायद हुँदनथ्यो होला यदि भाग्य लेख्ने अधिकार मेरो बाबालाई हुन्थ्यो भने । सित्तैमा त केवल आमा-बाबाको मायाम मता पाइँदो रैछ नत्र अन्य सबै खाले सम्बन्धको लागि जिवनमा केहि न केहि गुमाउनै पर्छ । 

मेरो बाबा पनि मेरो जोकोहीले परैबाट चिन्छन । झुत्रे किसान, जुन कि सधैँ बुढा गोरुहरुको साथमा ती पाखा बारीमा पसिनाको खेती गरिरहेका हुन्छन कि त दुनियाँलाई प्रवाह नभएको सकसपूर्ण मूलबाटोहरु टन्टलापुर घाममा मर्मत गरिरहेका हुन्छन । म सोध्थेँ कहिलेकाही “बाबा बेकाममा किन यस्तो दुःख गर्नुहुन्छ ? कसैलाई प्रवाह छैन यो भिरको बाटोको बारेमा” बाबा भन्नुहुन्थ्यो – म मरेपछि स्वर्गमा जाने बाटो बनाएको अनि म नजावाफ हुन्थेँ । खैर, धेरै छन बयान गर्नुपर्ने मेरो बाबा आमाको बारेमा । “संघर्ष” को अर्थ बाबालाई देखेपछि बुझ्छु अनि “संस्कार” को अर्थ आमालाई । सायद यी दुई शब्दको अर्थ उहाँहरु जति अरु कसैले पनि जानेको हुँदैन । जीवनमा बाबा-आमाले मलाई कहिल्यै आई लब यु भन्नु भएन तर निष्चल प्रेम गर्नुभयो । कहिल्यै मेरो जन्मदिनमा मैनबत्ती निभाउनुभएन तर जीवन बलाइ राख्नुभएको छ । आज यसरी नै जीवन चल्दै जाँदा एक्काइसौं वसन्त पार गरेको रहेछु । Happy Birthday to meThanks for giving birth to me my lovely mom & dad.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here